काठमाडौं । नेकपा एमालेबाट हालै निष्कासनमा परेका नेता डा. भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेपछि नयाँ पार्टी गठनको तयारीमा जुटेका रावलले सुदूरपश्चिमतिरका नेताहरुसँग भेटवार्ता गरिरहेका छन् ।
आगामी बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरेर पार्टीको घोषणा गर्ने तयारीमा रहेका रावलले आज बिहान मात्रै नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग आफ्नै निवासमा भेटवार्ता गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि मल्ल कांग्रेस बीपीतिर लागेका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै जोशी नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । २०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका थिए ।
भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा भेला भएर गैरकम्युनिष्ट पार्टी गठन गर्ने प्रस्ताव गरेको स्रोतले बताएको छ । हाललाई पार्टी घोषणा गर्ने र रावलले देशभरका नेता÷कार्यकर्तासँग छलफल गरेर विस्तार गर्ने तयारीमा रहेको बुझिएको छ ।