काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर म्याजिक नम्बरको धक्कु लगाउने दिन सकिएको बताएका छन् । आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ इगित गर्दै सो कुरा बताएका ह्न ।
अहिलेकै समीकरणले देश विकास गर्ने र त्यसको नेतृत्व एमालेले नै गर्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले भने ‘ठूला पार्टीका बीचमा झगडा लगाउने, अनि अनेक खालका षड्यन्त्रकारी र भ्रष्ट तत्वहरूले राज गरिरहने भयो । एउटाको काँधबाट अर्काको काँधमा उफ्रने, अनि राज गरिरहने ?’
प्रधानमन्त्री ओलीले मधेशका नेताहरूले संविधानको धारा–धारामा राजनीति गरेर जनता अलमल्याइरहेको आरोप लगाउँदै भने ‘म अघिल्लो पटक प्रधानमन्त्री हुँदा गफ धेरै गरे । ठूला कुरा धेरै गरे । यहाँका नेताहरूको माग संविधानको फलानो धारा फेनुपर्छ मात्रै भन्नुहुन्छ, संविधानको धाराको राजनीति गरेर जनता अलमल्याइरहनुहुन्छ ।’
मधेशी जनताको जीवनस्तरमा फरक पार्नेगरी आफू नेतृत्वको सरकारले काम गरिरहेको दावी गर्दै प्रधानमन्त्री ओलीले भने ‘मधेशको जनताको जीवनस्तरमा फरक पार्नका लागि हुलाकी राजमार्ग हामीले सुरु गरेका हौं ।’
हुलाकी राजमार्ग पूरा भएको वताउँदै प्रधानमन्त्री ओलीले १० वटा हुलाकी राजमार्गमा आधुनिक सहर बनाउने योजना बढाएर १३ वटा बनाएको बताएका छन् ।