काठमाडौँ । भोजपुर नगरपालिका–५ बोखिम डाडाँटोलमा स्कार्पिओ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार आज बिहान साढे ८ बजेतिर प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कार्पिओ सडकबाट खसेर दुर्घटना भएको हो । स्थानीय टेम्केडाँडा भ्रमणमा जाँदै गरेका यात्रु सवार स्कर्पिओ आफैँ अनियन्त्रित भइ सडकबाट करिब २५० मिटर तल खसेको बताइएको छ ।
दुर्घटनामा झापाको गौरादहका झम्कबहादुर घलेको मृत्यु भएको छ भने चालक र एक बालकसहित नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ कि इहायाराना सुब्बालाईको अवस्था गम्भीर रहेको उनीहरुलाई थप उपचारको लागि केही बेरअघि हेलिकप्टरबाट काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइते केहीको भोजपुर जिल्ला अस्पतालमा बढी चोट लागेका केहीलाई धरान लगिएको प्रहरीले जनाएको छ ।