काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा लु ४ त ७८३१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार ट्याक्टर मंगलबार राति पौने आठ बजे दुर्घटना भएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
‘कालीगण्डकी–३ को बिर्घा–मिर्मी सडक खण्डको भित्री सडकमा ट्याक्टर अनियन्त्रित भएर भिरबाट झण्डै ४० मिटर खसेर दुर्घटना भएको हो । दुर्घटनामा बाराको गढीमाई नगरपालिका–११ घरका अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको घटनास्थलमै मृत्यु भएको छ भने बाराको कलैया उपमहानगरपालिका–१० का २४ वर्षीय अर्जुन शाह, कलैया–११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी र गढिमाई ११ का १४ वर्षीय सिकिन्दर यादव घाइते भएका छन् ।
घाइतेमध्ये साह र मन्सुरीको अवस्था गम्भिर रहेको र उनीहरुलाई कालिगण्डकी अस्पताल मिर्मी स्याङ्जामा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको बताइएको छ ।