तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ। यो मौसममा यहाँ आउने आन्तरिक पर्यटक बढे पनि बास बस्नेको सङ्ख्यामा कमी आएको हो।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बास बस्ने गरी आउने पर्यटक कम भए पनि घुमघाम गरेर सोही दिन फर्किनेको सङ्ख्या भने उल्लेख्य रहेको जानकारी दिए।
उनले भने, ‘बास बस्ने गरी आउने पर्यटक ‘प्याकेज’ मा आउँछन्। घुमघामका लागि आउनेहरू दिनभर घुमेर साँझ फर्किने गरेका छन्।’ यति बेला बन्दीपुरमा दैनिक पाँच सयभन्दा बढी पर्यटकको आगमन भइरहेको उनको अनुमान छ। सार्वजनिक बिदा र शनिबारका दिनमा भने पर्यटकको सङ्ख्या अझै बढी हुने उनले बताए।
बन्दीपुरमा विदेशी पर्यटकको आगमन पनि उल्लेख्य भइरहेको समितिका अध्यक्ष प्रधानले बताए। उनका अनुसार अन्य मुलुकभन्दा चीनका पर्यटक बढी आउने गरेका छन्।
साथै जापान, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक पनि आउने गरेका तथ्याङ्क समितिमा रहेको उनले जानकारी दिए।
‘बन्दीपुर भ्रमण वर्ष २०२५’ का संयोजक वैश गुरुङले गाउँपालिकाको पहलमा यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन एक वर्षभरि विविध कार्यक्रम गर्न लागिएको जानकारी दिए। उनले भने, ‘बन्दीपुर भ्रमण वर्ष घोषणा गरी यहाँ धेरैभन्दा धेरै पर्यटक भित्र्याउने अभियानमा लागेका छौँ। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा यहाँ विशेष कार्यक्रम हुँदैछ। त्यसको तयारीमा जुटेका छौँ।’
बन्दीपुर भ्रमण वर्ष–२०२५ को अवसरमा यहाँ पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत देशका मुख्य सहरमा पुगेर बन्दीपुरको प्रचारप्रसार गर्ने लक्ष्य लिइएको संयोजक गुरुङले बताए।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूको आकर्षण केन्द्रबिन्दु बन्ने गरेको उनले उल्लेख गरे।
सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किमीको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। यहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा र मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ।
प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृङ्खला देखिने भएकाले यहाँ पर्यटकको आकर्षण बढेको संयोजक गुरुङले बताए ।(रासस)