काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा लागेको बताउँदै भ्रष्टहरुको मुख हेरेर होइन, काम र अपराध हेरेर कारवाही हुने बताएका छन् ।
ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने “आर्थिक हिसाबले देशको अवस्था नाजुक बनाइएको रहेछ । त्यसलाई सम्हालेर फर्काएर माथि उठाउने काम गर्दैछौं । देशको अवस्था सच्याउनुछ । गरिबीबाट माथि उठाउनुछ । देशलाई सुशासन दिनुछ । देशलाई भ्रष्टाचार मुक्त बनाउनुछ ।’
देशलाई सच्चाएर अघि बढाउन आफू नेतृत्वको सरकारले काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन कर्मचारीहरुले पनि नपाउने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीले देशमा व्यवस्था मात्र बदलिएको नभएर देशको अवस्थासमेत फेरिइसकेकाले बताउँदै अब फाइलमा अल्झिने नभएर डिजिटलाइज सेवामा पुगिसकेको बताएका छन् । उनले भने ‘पहिला केही काम पर्दा कोठा–कोठा जानुपर्ने र फाइल अल्झिने झन्झट थियो तर अहिले त्यो अवस्था छैन, डिजिटलाइज सर्भिसमा पुगिसकेका छौं ।’
ललितपुर महानगरपालिका सांस्कृतिक शहर, धेरै विविधता भएको र लामो समयदेखि आफ्नै चाडपर्वले सुसज्जित शहर रहेको बताउँदै प्रधानमन्त्री ओलीले अहिले एकताको आवश्यकता रहेको बताएका छन् । परस्परमा घृणा फैलाउने नेपालीको मौलिकता नभएको वताउँदै उनले एक अर्कामा मायाँ र सदभावको खाँचो औंल्याएका छन् ।