पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृमन्त्री रवि लामिछानेमाथि मुद्दा चलाउन माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
सोमबार प्रहरीले आफ्नोतर्फबाट भएको अनुसन्धानको निष्कर्ष, आवश्यक प्रमाण तथा रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
प्रहरीले रवि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणमा दोषी भएको जिकिरसहित प्रतिवेदन बुझाएको बताइएको छ ।
कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा पुर्याएका रवि कास्की प्रहरीको हिरासतमा छन् । पोखराको सूर्यदर्शन सहकारी ठगीमा रविसहित ४० जनाविरूद्ध प्रहरीले पूरक अभियोगपत्र अदालतमा दायर गर्नुपर्ने राय सरकारी वकिललाई दिएको छ।
संगठित अपराधमा मुख्य योजनाकारका रूपमा रवि, जीबी राई, छविलाल बन्जाडे जोशी र कुमार रम्तेललाई किटान गरिएको छ भने सम्पत्ति शुद्धीकरणमा रविले २१ करोडभन्दा बढीको शंकास्पद एवं गैरकानुनी कारोबार गरेको भन्दै मुद्दा चलाउन प्रहरीले राय दिएको राय छ ।
प्रहरी प्रतिवेदन अध्ययनपछि सरकारी वकिलले अदालतमा अभियोगपत्र दायर गर्नेछ । सम्पत्ति शुद्धीकरणमा पक्राउ परेको ९० दिनभित्र अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेकोले पुस ५ गतेभित्र मुद्दा दायर गरिसक्नुपर्ने बाध्यता छ ।
रविका साझेदार बन्जाडेलाई गत असोज ६ गते काठमाडौँबाटै पक्राउ गरी पोखरा लगिएको दिनबाट गणना गरी म्याद मिलान गरिएकाले पुस ५ भित्र मुद्दा चलाइसक्नुपर्ने भएको हो ।
रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगन्जको सानो पाइला सहकारी ठगीबाट करिब ६८ करोड रुपैयाँ गैरकानुनी रुपमा गोरखा मिडियामा परिचालन गरी संगठित तवरले ठगी गरेको प्रहरीको निष्कर्ष छ ।