काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई समृद्ध बनाउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
संसदीय मामिला पत्रकार समाजले सोमबार आयोजना गरेका कार्यक्रममा ‘संसदीय पत्रकारिता : अवधारणा र अभ्यास’ पुस्तक विमोचन गर्दै उनले संसदीय गतिविधिलाई जनतामाँझ पु¥याउन सञ्चार क्षेत्रको भूमिका अहम् रहेको उल्लेख गरे ।
‘हामीले सञ्चार क्षेत्रको यही महत्वलाई आत्मसाथ गर्दै लबी पत्रकारिताका लागि नियमावलीमा प्रबन्ध गरिसकेका छौँ । त्यही आधारमा कार्यविधिसमेत बनाइसकिएको छ’, सभामुख घिमिरेले भने। शासन प्रणालीका केही कमजोरीलाई देखाएर व्यवस्थामाथि नै प्रश्न उठाइएका बेला यसबारे जनतालाई स्पष्ट पार्ने जिम्मेवारी सञ्चार क्षेत्रको भएको उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले समाजद्वारा प्रकाशित पुस्तक संसदीय विषयमा जानकारी राख्ने र स्वयम् सांसदका लागि पनि उपयोगी रहेको बताए । उनले भने, ‘पुस्तकमा नेपालको संसदीय प्रणालीको खुलापन र विश्वमा यसको अभ्यासबारे थप विषय आउन सकेको भए अझ राम्रो हुने थियो ।’
अध्यक्ष दाहालले आलोचना जहिले पनि रचनात्मक हुनुपर्ने र त्यसले दिने सन्देश पनि सकारात्मक हुनुपर्ने धारणा राखे ।
उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले सत्य र सकारात्मक सन्देश दिने गरी समाचार सम्प्रेषण गर्नुपर्ने र जनतालाई दिने सूचना दुरुस्त हुनुपर्ने उल्लेख गरिन् । सङ्घीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले नेपालको संसदीय इतिहासलाई समृद्ध बनाउन सचिवालयले अनुसन्धानका कार्य सुरु गरेको जानकारी गराए ।