काठमाडौ । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।
७ खेलमा ६ जितसँगै सुदूरपश्चिम लिगको अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ । लिगचरणको अन्तिम खेलमा हारका बाबजुद पनि कर्णाली याक्स नेपाल प्रिमियर लिगको प्लेअफमा गएको छ । रनरेटमा पछि परेपछि काठमान्डु गुर्खाज भने बाहिरिएको छ । अब कर्णालीले प्लेअफमा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्ने छ ।
आज भएको खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भए पनि नेट रनरेटका आधारमा कर्णाली प्लेअफमा पुगेको हो । कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिमले १२.२ ओभरमा भेटेको भए काठमान्डु प्लेअफमा पुग्ने थियो । तर १२.२ ओभरमा सुदूरपश्चिमले लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली प्लेअफमा पुगेको हो ।
कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको थियो ।