काठमाडौँ । वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा काठमाडौँ आइपुगेका छन् । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेर्न उनी आज काठमाडौँ आइपुगेका हुन ।
५५ वर्षीय बायाँहाते ब्याटर लाराले १३१ टेस्ट खेल्दै ५२.८८ को औसतले ११ हजार ९५३ रन बनाएका छन् । टेस्ट क्रिकेटको एक इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका उनले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध ४ सय रन बनाउँदै नटआउट रहेका थिए ।
उनले २९९ एकदिवसीयमा ४०.४८ को औसतले १० हजार ४०५ रन जोडेका छन् । एकदिवसीयमा उनको उच्च स्कोर १ सय ६९ रन छ ।
लाराले सन् १९९० देखि २००७ सम्म वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट खेलेका थिए । सन् २००७ को अप्रिल २१ मा उनले अन्तिम एकदिवसीय खेलेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।