काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई म्याद थपका लागि आज सातौँपटक अदालत लगिएको हो ।
गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएका लामिछाने पोखराको हिरासतमा रहेका छन् । लामिछानेविरुद्ध ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
यसबीच उनलाई रुपन्देही, काठमाडौँ, चितवन र पर्साका विभिन्न सहकारी ठगी आरोपमा समेत ती स्थानमा लगेर बयान लिइएको थियो ।
रविविरुद्ध पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको आरोप छ ।
अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने र अर्को पटकमा अदालतमा अनुसन्धान प्रतिवेदनसहित मुद्दा पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।




















