काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका रवि लामिछानेको पर्सामा बयान सकिएको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा ५३ दिनअघि पक्राउ परेका उनलाई प्रहरीले अरु चार वटा सहकारी ठगीमा अनुसन्धानको दायरामा ल्याएको थियो। त्यसक्रममा अन्यत्र उनलाई बयान लिन समय लागेको थियो।
स्रोतका अनुसार रविले आफूलाई लगाइएका सहकारी ठगीको आरोप अस्वीकार गरेका छन्। उनलाई चार दर्जनभन्दा बढी प्रश्न सोधिएका थिए र रविले सबैको जवाफ दिए।
रविलाई बयान लिँदै गर्दा रास्वपा समर्थकहरुले प्रदर्शन गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाहिर रास्वपाका प्रदर्शनकारी र प्रहरीको केहीबेर घम्साघम्सीसमेत भएको थियो। अहिले भने माहोल शान्त छ।
पर्साका जिल्ला न्यायाधीवक्ता भोलाराथ निरौलाका अनुसार, सोध्नुपर्ने प्रश्नहरू पहिल्यै भएको र मंगलबारबाटै सबै जवाफ लामिछानेले दिएका छन्। यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा पठाइएको छ।
रविलाई प्रहरीले भोलि पोखरा फर्काउने तयारी गरेको छ। भोलि बिहानको उडानबाट काठमाडौं ल्याएर यहाँबाट फेरि पोखरा लगिने प्रहरी स्रोतले बतायो।
रविले आजको बयानमा अधिकांश रेडिमेड र पुरानै प्रश्नहरु सोधिएको गुनासो गरेका छन्। रविलाई भेटेका रास्वपाका एक नेतासँग उनले आफू एउटै जवाफ दिँदादिँदा वाक्क भइसकेको सुनाएका थिए।
उनलाई पर्साको वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिइएको हो। न्यायाधीवक्ता निरौलाका अनुसार, यो सहकारी ठगीको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।