काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच हस्ताक्षर भएको बीआरआइ कार्यान्वयन सम्झौतापत्र सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार सम्झौतापत्र सार्वजनिक गरेको हो ।
पाँच बुँदे सम्झौतामा पृष्ठभूमि, दुई देशबीचको पारम्परिक सम्बन्धको व्याख्यादेखि बीआरआईअन्तर्गतका परियोजनाहरुको कार्यान्वयनका बारेमा उल्लेख गरिएको छ ।
विभिन्न परियोजनाको छनोटदेखि कार्यान्वयनका विषयहरु विस्तृतमा समेटिएको सम्झौतामा १० वटा आयोजनाहरुको उल्लेख छ । बीआरआई परियोजना विशुद्ध आर्थिक विकास र उन्नतिका लागि केन्द्रित रहेको सम्झौतापत्रबाट प्रष्ट हुन्छ ।
बीआरआई सम्झौतामा आर्थिक सहायता, वित्तीय क्षेत्र सहायता, हिमालय सीमापार यातायात तथा कनेक्टिभिटी, व्यापार तथा औद्योगिक क्षेत्र र लगानीका क्षेत्रहरुबारे अलगअलग बुँदामा उल्लेख गरिएको छ । ऋणमा लिने भन्ने कतै पनि उल्लेख छैन ।