सुर्खेत । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछाने माथि भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठिक नभएको बताएका छन् ।
मंगलबार वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा प्रभाव पार्ने काम भइरहेको बताएका छन् ।
अदालतलाई प्रभावित गर्ने, न्यायिक प्रक्रियालाई प्रभावित पर्ने ढंगले बोल्नु वेठिक हो भन्दै गृहमन्त्री लेखकले प्रमुख प्रतिपक्षी दलको नेताले नै यस्तो काम गर्नु झनै दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दलको समर्थनमा लामिछाने आबद्ध दलका समर्थकहरूले पनि अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको वताउँदै गृहमन्त्री लेखकले अनुसन्धान हुँदै गर्दा प्रहरी, सरकारी वकिल कार्यालय र अदालत घेरा हाल्ने, सडकमा आएर विधिको शासनलाई उल्लंघन गर्ने काम सही नभएको बताएका छन् ।
ठगिएकाहरुको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो नभएको वताउँदै गृहमन्त्री लेखकले भने ‘जसको पैसा ठगिएको छ उसको चिन्ता छैन । जो माथि अनुुसाधनको काम भइरहेको छ । त्यसलाई पनि प्रभावित पार्न खोज्ने काम कसैले पनि नगरौँ ।’
संविधानको रक्षा र कार्यान्वयन गर्ने, दिगो शान्ति र समृद्धि ल्याउने प्रमुख विषयमा अहिलेको सरकारले काम गरिरहेकाले वताउँदै संविधान विरोधी गतिविधि निस्तेज गर्ने कुरामा सबै लाग्नुपर्ने बताएका छन् ।
त्यस्तै गृहमन्त्री लेखकले सरकार ढल्छ भन्ने हल्ला फैल्याएर सरकारलाई नै अस्थिर बनाउने षड्यन्त्र भएको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले नै सम्झौता अनुसार अगाडि बढ्ने भनिरहेकाले यो गठवन्धन त्यसरी नै अगाडि बढ्ने बताएका छन् ।