काठमाडौं । नेपाली कांग्रेसले बीआरआई अन्तर्गतका परियोजनामा अनुदान मात्रै लिने प्रष्ट पारेको छ । केन्द्रीय कार्य सम्पादन समितिको सोमबार बसेको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीले पहिले नै अनुदान स्वीकार गर्ने तर ऋण स्वीकार नगर्ने निर्णय गरिसकेकाले त्यसैबमोजिम मात्रै चीनसँग भएका परियोजना अगाडी बढ्ने निर्णय भएको बताएका छन् ।
बैठकपछि प्रवत्ता महतले बीआरआईबारे चीनसँग भएको सम्झौतामा ग्राण्ड फाइनान्सिङ नभएर एड फाइनान्सिङ आयो भन्ने विषय वस्तु सार्वजनिक रुपमा चर्चा भएको बताउँदै त्यो एड फाइनान्सिङमा ग्राण्ड स्वभाविक रुपमा पर्ने बताएका छन् । उनले भने ‘आउने दिन जुन परियोजना सम्झौता हुन्छ, १० वटा सूची त्यो फ्रेमवर्क समझदारीमा पनि उल्लेख छ । ती सूचीमा रहेका परियोजनाहरु सम्झौता गर्दा अनुदानका आधारमा मात्रै सम्झौता गर्ने । जुनमा चिन सरकार अनुदान दिन तयार हुन्छ ती आयोजनाहरु अगाडी बढ्छन् । त्यसै अनुसार जानुपर्छ र हाम्रो पनि भनाई अनुदान सहयोग मात्रै लिने हो ।’
कांग्रेसले यो शर्त चीन सरकारको सवालमा मात्रै नभएर आउने दिनमा सरकार-सरकारको बिचमा हुने सम्झौतामा ऋणका अनेकौ शर्तहरु हुने भएकाले त्यस्ता शर्तसहित ऋण लिँदाखेरि देशलाई फाइदा नहुने निस्कर्ष निकालेको प्रवक्ता महतले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीनबाट फर्किएपछि बीआरआई अन्तरगत अनुदान नै लिने र ऋण होइन भनेको उनले स्मरण गराउँदै महतले सम्झौता अघि पनि प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले चीन सरकार समक्ष यहि कुरा राखेको बताएका छन् ।
प्रवक्ता महतले नेपाली कांग्रेसले चीनको एक्जिम बैंकको ऋणमा बनेको पोखरा विमानस्थलबाट प्रतिफल नआउने निष्कर्ष निकालेको बताएका छन् ।
त्यस्तै उपनिर्वाचनको नतिजा सन्तोषजनक नै रहेको महतले बताएका छन् । बैठकमा यसबारे समीक्षा भएको र उपनिर्वाचनबाट पनि कांग्रेस पहिलो पार्टीकै रूपमा स्थापित भएकाले परिणाममा सन्तुष्टि नै लिइएको उनले बताएका छन् ।