पोखरा । सहकारीको पैसा अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पर्सा लगिँदैछ ।
सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लागि उनलाई बुद्ध एयरको जहाजबाट काठमाडौं पुर्याएर त्यहाँबाट पुनः बाराको सिमरा विमानस्थल हुँदै वीरगन्ज लग्ने प्रहरीको तयारी रहेको प्रहरीले जनाएको छ ।
गएराति नै पूर्वडिआइजी छविलाल जोशी र नेचर्स हर्ब्सका संचालक रामबहादुर खनाललाई पर्सा पुर्याइसकेको छ।
सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम गएको देखिएपछि प्रहरीले उनीहरूविरूद्ध पुर्जी लिएको हो ।
सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक अर्ब ४५ करोड बढी रकम बचत थियो । त्यसमध्ये उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोड भन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरण कसुरमा पनि अनुसन्धान भइरहेको छ ।