पोखरा । विभिन्न पाँच वटा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।
उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले १३ दिन म्याद थपको माग गर्दै आज पुनः अदालत उपस्थित गराएको हो ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याइएका लामिछानलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन लगेर पुनः पोखरा पुर्याइएको हो ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालेको कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र विरगञ्जको सानोपाइला सहकारीमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।
पर्सास्थित सानोपाइला सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा रवि र उनका फरार साझेदार गितेन्द्रबाबु राई (जीबी) सहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।
जिल्ला अदालत पर्साले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई, कुमार रम्तेल र रामबहादुर खनालसहितविरूद्ध पक्राउ पूर्जी जारी गरेकाले अब रविलाई केही दिनमा पर्सा लाने तयारी रहेको प्रहरीले जनाएको छ ।
पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा जीबी, रवि र छविलगायतका विरुद्ध ४३७ जनाले जाहेरी दिएका छन् । उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेको छ । त्यही ठगीको अहिले पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ ।