जनकपुरधाम । त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज (शुक्रबार) देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ । यसैगरी, मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विशेष विधिपूर्वक मनाइँदै छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभएको थियो । शिव धनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । सीतालाई छोरी-बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।
त्रेता युगमा माता सीता र भगवान् श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्षजस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ ।
पाँचसय साधु सन्त जनकपुरमा
रामजानकी विवाह पञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि अयोध्याबाट मंसिर १२ गते प्रस्थान गरेको जन्ती मंगलबार जनकपुरधाम आइपुगेका थिए । करिब पाँच सय साधुसन्तको समूह रहेको सो जन्ती टोली सोमबार राति महोत्तरीको मटिहानीमा विश्राम गरेर मंगलबार जनकपुरधाम प्रवेश गरेका थिए । जनकपुरधाम आइपुगेका जन्तीलाई उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले औपचारिक रूपमा स्वागत गर्नुभएको थियो । यस क्रममा सडकका दुवै किनारामा उभिएका स्थानीय बासिन्दाले ‘जय सियाराम’को नारा लगाउँदै पुष्पवृष्टिका साथ जन्तीलाई सम्मान गरेका थिए ।
यसअघि महोत्तरीको मटिहानीमा नगरप्रमुख हरिप्रसाद मण्डलसहित नगरवासीले बाजागाजाका साथ भव्य स्वागत गर्नुभएको थियो । जन्तीको आगमनलाई भव्य बनाउन जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले नगरवासीलाई सहभागी हुन आग्रह गर्नुभएको थियो ।
भारतको अयोध्यास्थित कारसेवकपुरमबाट प्रस्थान गरेका जन्ती बिहारको बक्सर, पाटलीपुत्र, हाजीपुर, काँटी, शिवहर, रुन्नी, सैदपुर, पनौराधाम, जानकी मन्दिर, पुपरी, अहिल्या हुँदै आइतबार भारतको विहारस्थित बेनीपट्टी आइपुगेको थियो । सोमबार साँझ बेनीपट्टीबाट मधवापुर हुँदै महोत्तरीको मटिहानी आएका जन्ती मंगलबार जनकपुरधाम पुगेका थिए । विवाहपञ्चमीको लागि जानकी मन्दिर दुलहीझैँ सिंगारिएको छ ।
सप्ताहव्यापी महामहोत्सव
सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महामहोत्सवको रौनकले जनकपुरधाम उत्सवमय बनेको छ । यही मंसिर १६ गतेदेखि सुरु भएको विवाह पञ्चमीमा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला र तेस्रो दिन धनुषयज्ञ महोत्सव गरिएको थियो । यसैगरी, चौथो दिन तिलकोत्सव (दुलहीका पिताबाट वरपूजन र वस्त्रआभूषण प्रदान गरिने विधि), पाँचौँ दिन मटकोर (विवाहका लागि यज्ञवेदी बनाइने र कुल देवीदेवताको पूजा गर्ने विधि), छैटौँ दिन शुभविवाह र अन्तिम अर्थात् सातौँ दिन रामकलेवा विधिका कार्यक्रम सम्पन्न हुँदै छ । रामकलेवा जन्ती बिदाइ गरिने विधि हो । यस विधिमा सम्धी, दुलहाका विशिष्ट नाता सम्बन्धका व्यक्ति र जन्तीलाई वस्त्रआभूषण र नगद दक्षिणा दिई बिदा गर्ने मैथली परम्परा छ ।
ऐतिहासिक विवाहको सम्झना
राम मन्दिर प्रांगणमा हुने उक्त समारोहले ऐतिहासिक विवाहको घटनालाई सम्झाउने गर्दछ । भारत र नेपालका हजारौँ श्रद्धालु यो समारोहमा सहभागी हुन जनकपुरधाम आएका छन् । जनकपुरधामका स्थानीयवासीले पाहुनाहरूलाई मीठा परिकार र सांस्कृतिक झलकसहित स्वागत गरेका छन् । सात दिनसम्म मनाइने विवाह पञ्चमी महोत्समा आज पञ्चमी (शुक्रबार)का दिन सीता र रामको परम्परागत विवाह समारोहको स्मरण गर्दै विवाह विधि सम्पन्न गरेपछि साताव्यापी रूपमा मनाइने विवाह महोत्सव सम्पन्न हुन्छ । यसपालि अयोध्याबाट आएका जन्तीले जनकपुरधामको विवाह पञ्चमीमा थप उत्साह थपेको छ ।