बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बि.आर.आई.) बाट नेपालले लाभ लिने बताएका छन् ।
यहाँ स्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा शुरु भएको बि.आर.आई. परियोजना बाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीन बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए ।
प्रधानमन्त्री ओलीले पेकिङ जस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताए । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा. गोङ छिहुङले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियोे । प्रधानमन्त्री ओलीले आजै उद्यमी– व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । – रासस