काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन् । चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका हुन् ।
प्रधानमन्त्री ओली भने, ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु ।’
नेपाल र चीन प्राचीन ज्ञानका भूमि रहेको बताउँदै प्रधानमन्त्री ओलीले महान् दार्शनिकहरू र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरि धेरै जीवनलाई छुने काम गरेको बताएका छन् ।
नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै प्रधानमन्त्री ओलीले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को पनि प्रशंसा गरेका छन् । उनले चीनले ८० करोड मानिसलाई गरिबीबाट उठाउनु नेपालका लागि प्रेरणादायी विषयसमेत भएको बताए ।