काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेका हुन् ।
साँझ ६ बजेर १० मिनेटमा बेइजिङ पुग्ने ओलीले भोलिबाट भेटघाट थाल्ने छन् ।
भोलि मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् भने दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने छ । भोलि नै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुने कार्यतालिका छ ।
मंसिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने छन् । सोही दिन सङ्ग्रहालय भ्रमण रहेको छन् भने मंसिर २० गते साढे २ बजे स्वदेश फर्कने छन् ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीहरूलगायत ७८ सदस्य सहभागी छन् । त्यसमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ छन् ।