काठमाडौं । सहकारी ठगी आरोपमा कात्तिक २ गतेदेखि प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पनि वयानका लागि काठमाडौंस्थित सरकारी वकिलको कार्यालय लगिएको छ ।
पोखराको प्रहरी हिरासतमा रहेका रविलाई काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि बिहीबार काठमाडौं ल्याइएको थियो ।
शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उनको बयान चलेको थियो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । गोर्खा मिडियाका तत्कालिन सञ्चालक छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।
स्वर्णलक्ष्मी सहकारीबाट गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ लिएको भेटिए पछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायत पाँच वटा सहकरीमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।
अनुसन्धानका क्रममा प्रहरी अधिकृतहरुले ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको बताइएको छ ।