काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको यही मंसिर १७ गते चीन भ्रमणमा जाने औपचारिक घोषणा गरिएको छ । नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एकसाथ विज्ञप्ति जारी गरी भ्रमणको औपचारिक घोषणा गरेका हुन् ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले मंसिर १७–२१ (डिसेम्बर २ देखि ५ सम्म) चीनको भ्रमण गर्ने छन् ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग मंसिर १८ गते भेटवार्ता गर्ने छन् भने चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग पनि भेट्ने प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा हुने एक कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।
यस्तै चिनियाँ विदेश मन्त्रालयले त्यहाँका प्रवक्ता माओ निङले ‘राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही डिसेम्बर २ देखि ५ सम्म चीनको औपचारिक भ्रमण गर्ने’ घोषणा गरेको भनी विज्ञप्ति जारी गरेको छ ।
प्रधानमन्त्री ओलीको भ्रमणमा काठमाडौँबाट मात्रै ३९ जनाको सरकारी टोली बेइजिङ जाने भएको छ। प्रधानमन्त्री ओलीले नेतृत्व गर्ने भ्रमणदलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, चिफ अफ प्रोटोकल विष्णुप्रसाद गौतम र प्रधानमन्त्री ओलीका पार्श्ववर्ती लेफ्टिनेन्ट कर्णेल दिवाकर खड्का छन् ।
भ्रमण दलमा रहेका ९ जना सांसदहरूमा अर्जुननरसिंह केसी, श्यामकुमार घिमिरे, लीलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्ला र रञ्जिता श्रेष्ठ छन् ।
त्यस्तै अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, परराष्ट्र मन्त्रालयका कामु सचिव अमृतबहादुर राई, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाह, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष पदमसुन्दर जोशी छन् ।
त्यस्तै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश वज्राचार्य, परराष्ट्र मन्त्रालयको उत्तर–पूर्व महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद ढकाल, सोही महाशाखका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका निजी सचिव उदय पोखरेल, परराष्ट्रमन्त्रीका निजी सचिव कमल रावल, शिष्टाचार अधिकृत ऋचा भट्टराई, परराष्ट्र मन्त्रालयको उत्तर–पूर्व एसिया महाशाखाका अधिकृत जानकी ओझा र सुजन लामिछाने, शिष्टाचार सहायक विनोद खनाल पनि भ्रमण दलमा छन् ।
प्रधानमन्त्रीको भ्रमण दलमा निजी सहयोगी (भ्याले) का रूपमा जयश्री शाक्य र परराष्ट्रमन्त्री डा. राणाकी निजी सहयोगी अनिता सिंह पनि प्रधानमन्त्रीको भ्रमण दलमा परेका छन् ।
प्रधानमन्त्रीका सुरक्षा अधिकृत इन्सपेक्टर माधव केसी, राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ संवाददाता प्रकाश सिलवाल, नेपाल टेलिभिजनका वरिष्ठ सहायक क्यामेरापर्सन प्रद्युम्न ढुंगाना, प्रधानमन्त्रीका निजी फोटोग्राफर आशिष पौडेल भ्रमण दलमा छन् ।
प्रधानमन्त्री चीन प्रस्थान गर्नुअघि शिष्टाचार र सुरक्षा अधिकृतका रूपमा परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत र नेपाली सेनाको अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशक मेजर दिनेश न्यौपाने बेइजिङ पुगिसक्ने छन् ।
प्रतिनिधिमण्डलमा सामेल भएर जानेबाहेक बेइजिङस्थित नेपाली राजदूतावासबाट नेपाली राजदूत कृष्णप्रसाद ओली लगायतका अधिकारीहरू पनि भ्रमणदलमा सामेल हुनेछन् ।
प्रधानमन्त्री चीन जाने हिमालय एयरलाइन्सको चार्टर्ड विमानमा उद्योग–वाणिज्य क्षेत्रका अगुवा प्रतिनिधिहरू पनि हुनेछन् । तिनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्की, नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष करण चौधरी, नेपाल आयात उद्योग संघका अध्यक्ष शंकरप्रसाद पाण्डेय र नेपाल कुटिर एवं साना उद्योग संघका अध्यक्ष उमेशप्रसाद सिंह छन् ।