काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान लिन सुरु गरिएको छ । सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले रविसँग बयान लिइरहेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका रविलाई बिहीबार काठमाडौं ल्याइएको थियो । काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पोखराबाट काठमाडौं ल्याएर वयान शुरु गरिएको प्रहरीले जनाएको छ ।
स्वर्णलक्ष्मी सहकारीबाट रवि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पैसा गएको र त्यो रकम रविले नै खर्च गरेको देखिए पछि सोही प्रकरणमा पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र कुमार रम्तेललाई पनि प्रहरीले काठमाडौँ ल्याएर बयान लिई कास्की फर्काइसकेको छ।
रविले गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहँदा सूर्यदर्शन र स्वर्णलक्ष्मीसहित ५ वटा सहकारीका रकम लगेर अपचलन गरेको आरोप छ। सोही विषयमा अनुसन्धानका क्रममा कास्कीमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गरिरहेको छ ।