काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली तत्काल नकाट्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा बोर्डले यस्तो निर्णय गरेको हो ।
आज वसेको बोर्ड वैठकले उक्त निर्णयप्रति दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले भने फरक मत राखेको स्रोतले बताएको छ । नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नु नेपाल विद्युत् प्राधिकरणको ‘परम कर्तव्य’ भएको जनाएको छ ।
ऊर्जामन्त्री दीपक खड्काले विद्युत् नियमन आयोगले लाइन नकाट्ने गरी मंगलबार पठाएको पत्र कार्यान्वयनमा जोड दिएका थिए । सो अनुसार बोर्डले प्राधिकरणले दिएको म्याद सकिए पनि अहिले नै उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो ।
गत कात्तिक २५ मा मन्त्रिपरिषद् बैठकले बक्यौता १५ दिनभित्र उठाउने र उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको थियो । सोलगत्तै २७ गतेको बोर्ड बैठकले उक्त निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णयपछि प्राधिकरणले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र बक्यौता नउठे पुनः लाइन काटिदिने चेतावनी दिएको थियो ।