काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् । बुधबार २१ औँ राष्ट्रिय ज्यापू दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकाले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्ने बताए ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘‘नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति विकसित संस्कृति हो । यस संस्कृतिले नेपाली संस्कृतिलाई मूल रुपमा प्रतिविम्बित गर्छ । थुप्रै नेपाली संस्कृतिका शाखा उपशाखाहरु छन् । हाम्रा पर्वपिच्छे गीत र नृत्यहरु पनि बेग्लै प्रकारको छ । दुनियाँमा यस्तो पृथक् प्रकारको संस्कृति अन्यत्र पाइँदैन । यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरनहरुका आफ्नै इतिहास र आफ्नै विशेषता छन् ।’’
नेपालमा समुदायपिच्छे नै पृथक् प्रकारको संस्कृति रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनै पनि देशमा नरहेको बताए । नेवार संस्कृति, परिकार र पहिरनहरुका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै प्रधानमन्त्री ओलीले यसलाई निरन्तरता दिन जरुरी रहेको ज्यापू संस्कृति विकास कोषका प्रतिनिधिसँग भने । प्रधानमन्त्री ओलीले ज्यापू गुठीका लागि अक्षयकोषमा सक्दो रकम वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाएका छन् ।
प्रधानमन्त्री ओलीले नेवार संस्कृति परिमार्जित र परिस्कृत संस्कृति रहेको बताएका छन् । नेपालका हरेक संस्कृति र परम्पराको संरक्षणका लागि सबै एकजुट भएर लाग्न आग्रह गदै ओलीले भने ‘मैले विश्वास लिएको छु हामी सबैले मिलेर यस्ता संस्कृतिहरुको संरक्षण गर्नुपर्दछ । यी संस्कृतिहरुको जगेर्ना गर्दै उत्थान गर्नुपर्दछ । नेपालका जोगाउनुपर्ने संस्कृतिहरुमध्ये काठमाडौं उपत्यकाबाट सुरु भएको नेवार संस्कृति अत्यन्तै उन्नत, सम्पन्न र इतिहास बोकेको संस्कृति हो ।’’
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा
प्रधानमन्त्री ओलीसमक्ष २१औँ राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज सङ्घीय सांसद कृृष्णगोपाल श्रेष्ठ, ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर दिवसको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको हो ।
यस वर्षको ज्यापू दिवस तथा योमरी पुन्ही यही मङ्सिर ३० गते मनाइनेछ । उक्त दिन काठमाडौँमा र्यालीसहित वसन्तपुरमा मुख्य कार्यक्रम हुनेछ । कार्यक्रममा ज्यापू प्रतिभा पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ ।