काठमाडौं । एमसीए नेपालले ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन – एमसीसी’ अन्तर्गतको २ सय ९७ किलोमिटर लामो चार सय केभी विद्युत् प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।
एमसीए– नेपालले आज एक सार्वजनिक सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि बोलपत्र आह्वान गरेको हो । यसअघि गरिएको बोलपत्रमा लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको थियो ।
एमसीए नेपालले ३१५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई चार भागमा बाँडेर निर्माण प्रक्रिया अघि बढाउँदै छ । बुटवल–गोरखपुर, प्रसारणलाइनको नेपालपट्टिको १८ किलोमिटर खण्डको ठेक्का लागि सकेको छ ।
पहिलो लटमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड पर्छ । दोस्रो लटमा रातमाटे–न्यू दमौली खण्ड र तेस्रो लटअन्तर्गत न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन तोकिएको छ । प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा १७ माघ २०८१ लाई तोकिएको छ ।
अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनःआह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको एमसीए नेपालले जनाएको छ । अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूमाथि समीक्षा गरिएकाले थप कार्यान्वयनयोग्य र लागत–प्रभावकारी प्रस्तावहरू प्राप्त हुने अपेक्षा गरिएको पनि एमसीए नेपालले जनाएको छ ।