काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री पदमबहादुर राईको पार्थिव शरीर अन्तिम श्रद्धाञ्वलीका लागि पेरिसडाँडास्थित केन्द्रीय कार्यालय परिसरमा राखिएको छ । केन्द्रीय सदस्य राईको पार्थिव शरीरमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री, सांसद, पार्टी नेता तथा कार्यकर्ताले राईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
भोजपुरको षडानन्द नगरपालिका बोयामा लालबहादुुर राई र दौलती राईको कोखबाट २०२३ पुस १५ गते जन्मिएका राईको मङ्सिर ८ गते बेलुका ५८ वर्षको उमेरमा पार्किन्सनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो ।
विसं २०४६ बाट अनेरास्ववियु छैटौँबाट राजनीतिमा प्रवेश गरेका राई २०४७ सालमा स्थानीय एकाइ सदस्य हुँदै सुनसरी र मोरङ जिल्ला सदस्य, भोजपुर जिल्ला सचिव, भोजपुर–तेह्रथुम–सङ्खुवासभा इञ्चार्ज, जनमुक्ति सेनाको ब्रिगेड कमिसार तथा पार्टी केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारी सम्हालेका थिए ।
विसं २०६३ मा अन्तरिम व्यवस्थापिका संसद् सदस्य एवं भौतिक योजना राज्यमन्त्रीसमेत भएका उनी विसं २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । उनको निधनप्रति नेकपा (माओवादी केन्द्र)ले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको गरेको छ ।
पार्टी अध्यक्ष दाहालद्वारा जारी शोक वक्तव्यमा केन्द्रीय सदस्य राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाउँदै आमपार्टी पङ्क्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न आह्वान गरेका छन् । उनको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने पार्टीले जनाएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।