काठमाडौं । खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै दबाब र्याली तथा कोणसभा आयोजना भएको छ ।
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायी सडक तथा खोल मापदण्ड पीडित संघर्ष समितिले कुपण्डोल पुलबाट कंकेश्वरि मन्दिर परिसर इनाटोलमा भेला भएर र्यालीसहित माइतीघर पुगेर कोणसभा गरिरहेका छन् ।
र्यालीमा सहभागीहरूले ‘निजी घरजग्गामाथि हस्तक्षेप बन्द गर’, ‘अन्यायपूर्ण सडक विस्तार खारेज गर ’, ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
सुमन सायमीलगायतका अभियन्ता सहभागीहरुले काठमाडौं महानगरपालिकका मेयर बालेन साहलाई जनतालाई सुकुम्वासी नबनाउन चेतावनी दिएका छन् । कार्यक्रमका वक्ताहरुले मेयर साह गुण्डागर्दीशैलीमा उत्रिएको भन्दै आफ्ना गतिविधि नसच्याए उनको राजनीतिकयात्रा लामो नहुने चेतावनी दिएका छन् ।
२०८० पुस ३ मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायत उपत्यकाका ठूला नदी तथा खोलाका दायाँबायाँ २०-२० मिटर छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।
सो आदेश कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको थियो । यसो गर्दा सयौँ परिवारको उठीवास लाग्ने दाबी गर्दै विरोध गरिएको हो ।