काठमाडौँ । मध्यबेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा ६ जनाको मृत्यु भएको लेबनानले जनाएको छ । हिजबुल्लाहले मृतकमध्येमा आफ्ना प्रवक्तासमेत रहेको पुष्टि गरेको छ ।
गत सेप्टेम्बर २३ मा पूर्ण युद्ध सुरु भएदेखि इजरायलले बेरुतको दक्षिणी उपनगर, हिजबुल्लाहको गढमा निरन्तर आक्रमण गरिरहेको छ भने मध्यबेरुतमा तुलनात्मक रूपमा कम आक्रमणहरू भएका छन् ।
बेरुतको रास अल–नबा जिल्लामा भएको पहिलो आक्रमणमा हिजबुल्लाहको मिडिया प्रमुख मोहम्मद अफिफसहित चारजनाको मृत्यु भएको हिजबुल्लाह तथा इजरायली सेनाले जनाएको छ ।
मार इलियासमा भएको दोस्रो आक्रमणमा दुईजनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले इजरायलले मार इलियास क्षेत्रमा आक्रमण गर्दा उक्त स्थानमा द्वन्द्वबाट विस्थापित मानिसहरू पनि रहेका थिए ।
आक्रमणमा जलेको तीव्र गन्धको बिचमा विस्फोट र साइरनको आवाज सुनिएको जनाउँदै एएफपीले घटनास्थलमा आगो लागेको र अग्नि नियन्त्रकहरूले नियन्त्रण गर्ने प्रयास गरिरहेको देखाएको छ ।
लेबनानी सुरक्षा स्रोतले नाम नछाप्ने सर्तमा आक्रमणले इलेक्ट्रोनिक्स स्टोर र गाडीमा प्रहार गरेको जनाएको छ । प्यालेस्टिनी उग्रवादी समूह हमास र लेबनानको हिजबुल्लाहसँग सम्बद्ध सुन्नी मुस्लिम समूहलाई उल्लेख गर्दै एनएनएले ‘जामा इस्लामिया केन्द्रलाई लक्षि’ गरेको बताएको छ ।
यद्यपि, जामा इस्लामियाका सांसद इमाद हाउटले समूहमा सम्बद्ध केन्द्र वा संस्था आक्रमणले लक्षित गरेको क्षेत्रमा अवस्थित नरहेको र समूहका कुनै पनि सदस्यलाई लक्षित नगरिएको जनाएको छ ।
यसअघि मध्यबेरुतको रास अल–नबा जिल्लामा गरिएको आक्रमणमा आफिफको मृत्यु भएको थियो । जसलाई इजरायली सेनाले हिजबुल्लाहको ‘प्रमुख प्रचार’ भनेर वर्णन गरेको थियो ।
उक्त घटनामा एक महिलासहित चारजनाको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबारको आक्रमणपछि लेबनानका शिक्षामन्त्री अब्बास हलाबीले बेरुत क्षेत्रका विद्यालय र उच्च शिक्षा संस्थानहरू दुई दिनका लागि बन्द रहने बताएका छन् ।
लेबनानको दक्षिणी टायर क्षेत्रमा आइतबार इजरायली हमलामा ११ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (रासस/एएफपी)