काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते काठमाडौँमा जागरणसभा गर्दैछ । एमालेको उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले जागरणसभा गर्ने निर्णय लिएको हो ।
नेकपा (एमाले) पार्टी र नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरू सम्पेषण गरी पार्टी, नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेकाले त्यसलाई चिर्नका लागि सभा आयोजना गरिएको एमालेले जनाएको छ ।
सभाबारे जानकारी दिन शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख दलहरूप्रति जनता असन्तुष्ट छन् भन्ने कुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले जागरण अभियान सञ्चालन गर्न लागेको बताएका छन् । नेपाली जनताले कांग्रेस–एमालेबाट नै मुलुकमा सुधारको विश्वास, भरोसा र अपेक्षा गरेको पोखरेलले दावी गरेका छन् ।
महासचिव पोखरेलले भने, ‘ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिर्टीको अगुवाइमा जागरण अभियान कार्यक्रम हुँदैछ । उपत्यकामा नै आयोजना हुने कार्यक्रमकमा माध्यमबाट हामी यस्तो सन्देश दिन चाहन्छौं कि जनता असन्तुष्टि छन् भन्ने खालको कुरा जुन खडा गर्न खोजिएको छ । त्यो होइन, जनता प्रमुख दलहरुप्रति नै विश्वास र भरोसा गर्दछन् । र, उनीहरुबाटै सुधारको अपेक्षा गर्दछन भन्ने सन्देश दिनु पनि जरुरी छ । त्यो हिसाबले हामीले जुन सभाको आयोजना गर्न खोजेका छौं । जागरण सभा, त्यसको औचित्य त्यसले पुष्टि गर्छ । ’
एमाले बागमती प्रदेश इन्चार्ज तथा जागरण सभा संयोजक समितिका संयोजक डा. राजन भट्टराईले जारी गरेको विज्ञप्तिमा सभा गर्नु पर्नाका विभिन्न ५ बुँदामा कारणहरु उल्लेख गरिएको छ ।