रूपन्देही । रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रूपन्देहीमा तीन दिनको बयान सकिएको छ। पहिलो दिन मौखिक प्रश्नको जवाफ र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफमा उनले सहकारी ठगीमा संलग्नता ठाडै अस्वीकार गरेका छन्।
अनुसन्धानमा संलग्न रहेका एक अधिकृतका अनुसार उनले सोधिएका सबै प्रश्नमा आफू कतै पनि सहभागी नभएको जनाएका छन्। हरेक प्रश्नको सहजै जवाफ दिएको र सबै प्रश्नको जवाफमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। सहकारी रकमका विषयमा जीवी राई र सागर केसीलाई सोध्नसमेत जवाफ दिएका थिए।
उनलाई आजै पोखरा पठाइने भएको छ। २६ दिनदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका उनलाई मंगलबार रूपन्देही ल्याइएको थियो ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।