बुटवल । सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज तेस्रो दिन बयान सुरू भएको छ ।
पोखराबाट मंगलबार भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजो १० घण्टा लिखित बयान लिइएको थियो । रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरले लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाइने बताएका छन् । बयानका आधारमा पुरुक प्रतिवेदन बनाउने तयारी रहेको बताइएको छ ।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै सहकारी पीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रर्दशन गर्दै आएका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न निषेध गरेको छ ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो। अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान भइसकेको छ ।