भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बुधबारको बयान सकिएको छ ।
लामिछानेसँग रुपन्देही प्रहरीले हिजो र आजको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देहीमा आज दोस्रो दिन बिहान सवा १० बजे लगिएकोमा साँझ ७ बजे बयान सकिएको हो ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरुको टोलीले दोस्रो दिन लिएको बयान सकिएको छ भने अब विहिबार बिहान १० बजेदेखि पुन: बयान लिइने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा लामिछानेको बयान लिइएको हो ।
मंगलबारको बयान सकेर निस्किने क्रममा लामिछानेले ‘बाघ खोरमा थुनेर स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि बुधबार भने उहाँलाई बोल्न नमिल्ने गरि सुरक्षाकर्मीले घेरा हालेर बाहिर निकालेका थिए । लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको छुट्टै हिरासत कक्षमा राखिएको छ ।
पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।
लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।