काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएका उद्योगीहरुले पहिले दिइएको बिलअनुसार नै १५ दिनभित्र बक्यौता रकम तिर्नुपर्ने बताउँदै नदिए पुनः लाइन काट्ने चेतावनी दिएका छन् । प्राधिकरणले टीओडी मिटरको डाटा अनुसार नै बिल दिएकाले त्यो सही भएको उनको जिकिर छ ।
प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा निर्देशक घिसिङले मन्त्रिपरिषद् बैठकले उद्योगहरूमा काटिएको बिजुली जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्देशनअनुसार आफूहरूले कार्यान्वयन थालेको बताए ।
प्राधिकरले पहिले दिएको विल नै सही भएको दावी गर्दै पत्रकार सम्मेलनमा घिसिङले भने, ‘हामीले दिएको त्यही बिल ठीक छ भनेर अदालत, संसद्को लेखा समिति तथा विद्युत् नियमन आयोग लगायतले भनेका छन् । ठीक छैन भनेर अदालतमा हालेका मुद्दा खारेज भएको छ, हालै मात्रै हिमाल आइरनको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।’
अदालतले पनि सही ठहर्याइसकेको छ । उद्योगीहरूले दिएका ९० वटा मुद्दा खारेज भएका छन् । कुनै पनि प्रशासनिक निकायबाट बिल ठिक छैन भन्न सक्ने अवस्था छैन ।’
सरकार र नियामक निकायको निर्णय र निर्देशन मान्ने भएकाले प्राधिकरणले अहिले उद्योगहरूमा बिजुली जोड्न थालिएको उनको बताए । यसअघि लाइन काट्दै जोड्दै गरिएको थियो । उद्योगहरूले बक्यौता तिर्नेतिर भन्दा पनि झन् विवादित बनाउने र राजनीतिकरण गर्ने काम गरिरहेको घिसिङको आरोप छ ।