काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले रक्षामन्त्री चुनेका छन्।
उनले अमेरिकी टेलिभिजन फक्स न्युजका प्रस्तोता पिट हेगसेथलाई रक्षामन्त्री चयन गरेको अमेरिकी सञ्चारमाध्यहरूले जनाएका छन्।
मंगलबार ट्रम्पले विज्ञप्ति जारी गरेर रक्षामन्त्री हेगसेथ चयन गरिएको जानकारी दिएका हुन्।
‘पिट कडा, स्मार्ट र अमेरिका फर्स्टको सच्चा विश्वास राख्ने व्यक्ति हुन्। पिटको नेतृत्वमा हाम्रा सेना फेरि महान् हुनेछन् र अमेरिका कहिल्यै पछाडि पर्दैन भन्ने कुरा अमेरिकाका शत्रुहरूले थाहा पाइसकेका छन्,’ ट्रम्पले जारी गरेको सन्देशमा भनिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार हेगसेथ पूर्वसैनिक पनि हुन्। उनी एक अनुभवी सैनिक रहेको र अफगानिस्तान, इराक र क्युवामा सेवा गरेको भनिएको छ।
उनले द वार अन वारियर्स नामक किताब समेत लेखेका छन्। त्यसमा सेनाभित्रबाटै आफूमाथि चरमपन्थीको आरोप लगाएपछि सन् २०२१ मा सेना छोडेको भनिएको छ।
‘पिट ‘शक्तिको माध्यमबाट शान्ति’ नीतिको साहसी तथा देशभक्त समर्थक हुनेछन्,’ ट्रम्पले सन्देशमा भनेका छन्।
नोभेम्बर ५ भएको निर्वाचनबाट ट्रम्म राष्ट्रपतिमा विजयी भएका हुन्। उनले आगामी जनवरीमा ह्वाइट हाउसमा जिम्मेवारी सम्हाल्नेछन्।
आफू ह्वाइट हाउस जानुअघि ट्रम्पले आफ्नो नेतृत्वमा रहने मन्त्रीको टुंगो लगाउन थालेका हुन्।
राष्ट्रपतिले चयन गरेको नाम अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्छ। यसपालि सिनेटमा पनि रिपब्लिकनहरूकै बहुमत छ। (रासस)