काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पोखराबाट भैरहवा पुर्याइएको छ । उनलाई बुद्ध एयरको विमान १२ः२० मा भैरहवा पुर्याइएको हो ।
पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा लाने तयारी भए पनि मौसम खराब भएकाले उडानमा ढिलाइ भएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछान सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा थिए ।
लामिछानलाई ल्याउने तयारीपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्धचोक, लुम्बिनी गेटमा प्रदर्शन थालिसकेका छन् भने विमानस्थलमै पुगेर पनि समर्थकहरुले प्रदर्शन गरिरहेका छन् ।
उता सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शनको तयारी गरेका छन् । कसैको समर्थन र विरोधभन्दा पनि आफूहरुले न्यायका लागि विरोध गरेको पीडितहरुले बताएका छन् ।
रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु गर्ने बताएका छन् । उनका अनुसार सकेसम्म आजै बयान सक्ने तयारी भएपनि पोखराबाट आउँदा नै ढिलाई भएकाले आजै पूरा नहुने बताएका छन् । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीले जनाएको छ ।
लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । तीमध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको अनुसन्धानमा देखाइएको छ । रास्वपा र सुप्रिम पीडितहरुले भैरहवाकेन्द्रित भएर प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले बुद्धचोक, लुम्बिनी गेट, जिल्ला अदालत र सरकारी वकिल कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणाको तयारी गरिरहेको छ ।