बागलुङ । जैमिनी नगरपालिका-७, जैदीको व्यार्थलानजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
जैमिनी नगरपालिका-८, छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार ६ जना सवार भ्यानमा एक जनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। भ्यानमा सवार ६ जनामध्ये एक जना घाइते छन् । ४५ वर्षीय गङ्गाबहादुर श्रीष घाइते भएको र उनलाई उद्धार गरेर उपचारका लागि धौलागिरि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।




















