पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संगठित अपराधको कसूरमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश नवराज दाहालको एकल इजलासले सो निर्णय गरेसँगै पूर्वगृहमन्त्रीसमेत रहेका रवि अझै १३ दिन प्रहरी हिरासतमा बस्नु पर्ने भएको छ ।
रविसँगै सोही प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाईं र पूर्वसंचालक रामकुमार खनाललाई पनि हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
कात्तिक २ गते काठमाडौंमा पक्राउ गरेका रविलाई अनुसन्धानको लागि हिरासतमा राख्न यो चौथोपटक म्याद थप गरिएको हो ।
कास्की प्रहरीले अनुसन्धान सकेपछि पूरक अनुसन्धानको लागि रविलाई बुटबल पठाउने बताइएको छ ।