ललितपुर । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । बाढीपहिरोबाट छ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको महांकाल गाउँपालिका-३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए । उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा भएको हो ।
‘त्यहाँ पर खुवा कम्पनी थियो, त्यहीँ वैतर्णी मन्दिर थियो, १०८ शिवलिंग थिए, हवन कुण्ड, पक्की भवन थियो । संस्कृत पढाउने उद्देश्यले निर्माणाधीन पक्की भवनमा ठूलो क्षति भयो’, वडा कार्यालयबाट औँलाले देखाउँदै अध्यक्ष पराजुलीले भने । निरन्तरको झरीले पहिरो मात्र खसेन धामीखोलामा थुप्रिएको बालुवा, ढुंगा, माटो, रुखसहित बाढी गाउँबस्ती पसेपछि अकल्पनीय क्षति भएको हो ।
बाढीपीडित स्थानीय प्रेम श्रेष्ठले भने, ‘मेरो र भाइ उत्तमको एउटा दुईतले पक्की भवन थियो, अर्को कच्ची दुवै बगे । वन, प्रहरी कार्यालय र सवारीसाधन सबै बगे । बाढीपहिरोमा परेर गाउँका तीनजनाको मृत्यु भयो । उनीहरूका घर भएका स्थान बगरमा परिणत भयो ।’
२०५३ देखि विद्युत् उत्पादन गरिरहेको यहाँको साना जलविद्युत्गृहमा आंशिक क्षति भएको छ । बाढीले प्रहरीका दुईवटा आवासीय टहराका साथै हिलसाइड माध्यमिक विद्यालयको भवनमा पनि क्षति भएको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए ।
खानेपानीका अधिकांश ट्यांकी र पाइप नष्ट भएका छन् । दुई हजार तीन सय घरमध्ये ७५ प्रतिशतलाई खानेपानीको व्यवस्था गर्न हम्मेहम्मे परेको छ । हालसम्म बाढीले बगाएका सडकको मर्मतसम्भार नहुँदा मूलसडकमा पुग्न कठिनाइ भएको अध्यक्ष केसीले बताए । –रासस