काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ ।
कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर पोखरा पुर्याइएका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतमा आज चौथोपटक म्याद थपका लागि उपस्थित गराइएको हो । यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै पूर्वप्रबन्ध निर्देशक रविसहित पूर्वउपाध्यक्षसमेत रहेका पूर्वडीआईजी छविलाल जोशी, जीवी रार्इका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लिला पछाईंलाई अदालतमा उपस्थित गराइएको छ ।
कास्की प्रहरीले रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।