काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीश संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदित भएका छन् ।
शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएको सभापति पशुपतिशमशेर राणा जबराले जानकारी दिएका छन् ।
बैठकमा दुवैले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । सभापति राणाले भने “संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० बमोजिम समितिमा सुनुवाई गर्दा योग्यता, क्षमता र अनुभवसमेतको आधारमा सोही नियमावली नियम २६ को उपनियम ५ बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तीको लागि अनुमोदन गर्ने भनि आजको बैठकले निर्णय गरेको व्यहोरो जानकारी गराउँदछु ।”
सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर दुई प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका थिए ।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।