ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणका लागि शिलान्यास गर्दा झडप भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्लेपाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । शिलान्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।
कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेपछि दुई पक्षबीच झडप भएको बताइएको छ । केवरकार निर्माण गर्नु हुँदैन भन्ने पक्षका स्थानीयले अग्लो ठाउँबाट ढुंगा हान्दा केही प्रहरी, मजदुरलगायतलाई लागेको पनि स्काभेटर चलाएर केबलकार शिलान्यास गरिएको बताइएको छ ।
पाथीभरामा केबलकार बनाउने विषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो । सरकारले अनुमति दिएर निर्माण गर्दा पनि विवाद झिक्नु गलत भएको मादेनले बताएका छन् ।
केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरुले विरोध गर्दै आएका छन् । पाथीभरालाई मुकुम्लुङका नाममा आस्थाका साथ मान्दै आएका पहिचान पक्षधरहरुले केवलकार निर्माण भए प्रकृति नष्ट हुने दावी गर्दै आएका छन् ।
पाथीभरा देवीको मन्दिर ताप्लजुङमा २ हजार ७९४ मिटर उचाइमा अवस्थित छ ।