काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदर्शनलाई जारी राख्ने जनाएको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेदेखि नै पोखरामा प्रदर्शन गर्दै आएको रास्वपाले जारी राख्ने भएको हो । बुधबार रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनलाई निरन्तरता दिने जानकारी दिएका हुन् ।
मंगलबार पोखरामा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी बिथोल्ने प्रयत्न गरेको भन्दै रास्वपाले त्यस कार्यको भर्त्सना पनि गरेको छ । आज अपरान्ह ४ वजे पोखराको मानवअधिकार चोकका साथै देशका विभिन्न जिल्लामा प्रदर्शन गर्ने विज्ञप्तिमा जनाइएको छ ।
मंगलबार वाई चोकमा प्रदर्शन गरेको रास्वपाले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले केही कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो भने अश्रुग्यास हानेको थियो ।
हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को गर्दै म्याद थप गर्दै सभापति लामिछानेलाई हिरासत वसाई लम्व्याई प्रतिशोधपूर्ण प्रयास भइरहेको भन्दै रास्वपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हिरासत बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने कानूनी प्रवन्धको कार्यान्वयनका लागि रास्वपाले सम्वद्ध सवैको ध्यानाकर्षण गराएको छ ।