वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शिक्षा र स्वास्थ्यको गुणस्तरमा सम्झौता गर्न नसकिने बताएका छन् ।
पर्साको जगतपुरमा श्री टैरीमाई क्लबद्वारा आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन् ।
‘शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा गुणस्तरीयता कायम गर्दै क्षमता बढाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ,’ उनले भने। ‘नयाँ संस्था खोल्ने भन्दा भएका शिक्षाका संस्थाहरुको क्षमता वृद्धि गर्नुकम खर्चिलो र राम्रो हो,’ उनले भने ।
शिक्षाले वर्तमान समयको आवश्यकता पुरा गर्न सक्नुपर्ने उनको धारणा थियो। नेपालमा उत्पादन भएका जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्नुपर्ने उनको धारणा थियो ।
श्री टैरीमाई क्लबले छोटो समयमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको उनले बताएका छन् । विगतको ८ वर्ष देखि शिक्षा क्षेत्रमा काम गर्दै आएको उक्त क्लबले थुप्रै काम गरेको उनले बताए । बालबालिकालाई मात्र विद्यालयमा गई शिक्षकसंग ज्ञान लिनुले शिक्षा पूरा हुँदैन उनीहरूलाई अभिभावकले पनि घर घरमा शिक्षा दिनुपर्ने आवश्कता रहेको उल्लेख गरे ।
यद्यपि उक्त उपलब्धिमा मात्रै सीमित हुनुभन्दा उपलब्ध साधन स्रोतबाट अधिकतम उपलब्धी हासिल गर्नुपर्नेमा उनको जोड थियो । ‘देश दिन दिनै गरिब हुँदै गएको छ, थोरै लगानीमा पनि धेरै उपलब्धी हांसिल गर्नुपर्ने अवस्था छ’, ‘कार्यक्षमता विकास नै अहिलेको आवश्यकता हो,’ उनले भने ।
उक्त कार्यक्रममा पोखरिया नगरपालिकाका नगरप्रमुख प्रधुमन चौहान , उपप्रमुख रुबी ठाकुर,पूर्व नगरप्रमुख मन्टु रौनियार लगायतको उपस्थिति रहेको थिए ।