काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले थप १० दिन म्याद थपेको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका लामिछानेको दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । तिहार विदा परेका कारण आज अदालतमा म्याद थपका लागि लगिएको थियो । अदालतले सोही दिनदेखि गणना हुने गरी १० दिनको म्याद थप गरेको बताइएको छ ।
प्रहरीले २५ दिनको लागि म्याद थपको माग गरेपनि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप्ने अनुमति दिएको हो ।
सभापति पक्राउको विरोधमा रास्वपा कार्यकर्ता तथा समर्थकले प्रदर्शन गर्दै आएका छन् । आज पनि जिल्ला अदालत अगाडि प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने कोशिस गरेपनि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केहीलाई नियन्त्रणमा लिएको थियो ।