पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आधा दर्जन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्दै अराजक गतिविधि गरेपछि ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
नियन्त्रणमा लिइएकामा ४ पुरुष र २ महिला छन् । सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।
सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत लगिएको छ । म्याद थप नगर्न दवाव दिन रास्वपाका नेता कार्यकर्ताले आज गरेको प्रदर्शन रत्नचोक हुँदै वाइ चोक पुगेको थियो । सो क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरेको थियो ।