काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् । मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपह्रान्ह अनुगमनका लागि मिनभवनस्थित विभागको कार्यालय पुगेका हुन ।
त्यस क्रममा उनले सेवाग्राहीहरुसँग समेत संवाद गरि विभागबाट प्रवाह भई रहेको सेवाका बारेमा जानकारी लिएका छन् । सेवाग्राहीहरुले छिटो छरितो सेवा प्रवाहको वातावरण बनाई दिन आग्रह गरेका थिए । सेवाग्राहीसँग कुराकानी पछि उनले लाईन नलागि सेवा लिने व्यवस्था मिलाउन विभागलाई निर्देशन दिएका छन् । टोकन प्रणाली लागु गरि सेवा लिने प्रवन्ध गर्न मन्त्री दाहालले निर्देशन दिएका छन् ।
यसैगरी मन्त्री दाहालले डिजिटल सवारी चालक अनुमति पत्र र ईम्बोष्ड नम्बर छपाईका बारेमा पनि जानकारी लिएका छन् । विभागका महानिर्देशक राजिव पोखरेलले हाल दैनिक ४ हजारका दरले चालक अनुमति पत्र छपाई भई रहेको जानकारी दिए । प्रदेश स्तरबाट समेत छपाई शुरु भएकाले विभागमा चाप केहि घटे पनि डिजिटल कार्ड छपाईलाई चुस्त र नियमित बनाईएको उनको भनाई थियो ।
ईम्बोष्ड नम्बर जडानलाई थप तिव्र र व्यवस्थित पारिने भन्दै पोखरेलले विद्युतीय सवारी दर्ता प्रणालीलाई देशै भरि कार्यान्वयन गरिने बताए । यस्तै नयाँ सडकहरुमा थप रुट निर्धारणका लागि अध्ययन भई रहेको विभागले जनाएको छ ।