कैलाली । कञ्चनपुरमा एक दम्पतीको हत्या भएको छ । जिल्लाका लालझाडी गाउँपालिका १ विनाबारीमा रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिएका छन् ।
शुक्रबार बिहान बिनवारीमा ४६ वर्षीया रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बडायकको बीभत्स ढंगले हत्या गरेको अवस्थामा शव भेटिएको थियो।
धारिलो हतियारको प्रहारबाट उनीहरूको हत्या भएको पाइएको प्रहरीले जनाएका छन् । लालझाडी १ का वडाध्यक्ष प्यारेलाल रानाले राति दम्पतीको हत्या भएको बताएका छन् ।
वडाध्यक्ष रानाका अनुसार श्रीमानको टाउको फुटेको छ । महिलाको शव खाटबाट तल झरेको अवस्थामा छ । घरको आँगन रक्ताम्मे छ । तालिम प्राप्त कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर मगाएर प्रहरी टोली अहिले घटनास्थलमा छ । घटनास्थल अहिले सील गरिएको छ।
लालझाडी गाउँपालिका–१ का अध्यक्ष प्यारेलाल रानाका अनुसार बिनवारीमा उनीहरुले नास्ता पसल सञ्चालन गर्दै आएका थिए । पसल जोडिएको घरमा उनीहरु मात्रै बस्दै आएका थिए ।
बडायक दम्पत्तिका दुई छोरा र एक छोरी छिन् ।