काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताकार्यकर्ताहरू बिहीबार कास्की जिल्ला अदालतको निर्णयपछि निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका छन्।
अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।
लामिछानेको गिरफ्तारीलाई लिएर रास्वपाका समर्थकहरू लामो समयदेखि आक्रोशित थिए। अदालतको पछिल्लो निर्णयले थप तनावको स्थिति सिर्जना गर्यो।
प्रारम्भमा वाई चोकमा भेला भएर नाराबाजी गरिरहेका प्रदर्शनकारीहरूले अदालतको निर्णयलाई अस्वीकार गर्दै निषेधित क्षेत्र तोड्ने निर्णय गरे।
उनीहरू वाई चोकबाट अगाडि बढ्दै राष्ट्र बैंक चोकमा पुगेर सरकार र न्यायपालिकाविरुद्ध नाराबाजी गरे। स्थिति झन् उग्र हुँदै गएपछि प्रहरी हस्तक्षेप गर्न बाध्य भयो। प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको थियो।
प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ।
कास्की जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न आदेश दिएको थियो।
रास्वपाका नेताहरूले अदालतको निर्णय अन्यायपूर्ण भएको दाबी गर्दै, लामिछानेविरुद्ध गरिएको अनुसन्धानलाई ‘राजनीतिक षड्यन्त्र’ को रूपमा व्याख्या गरेका छन्।
प्रदर्शनका क्रममा उनीहरूले सरकारको कदमको आलोचना गर्दै लोकतान्त्रिक अधिकारको हनन भइरहेको बताउँदै आक्रोश व्यक्त गरेका थिए।